सडक आश्रित मानव मुक्त अभियान नेपाल
SADAK AASHRIT MANAV MUKTA ABHIYAN NEPAL

Testimonial

विविध कारणहरुले असहाय बन्न पुगेका सबै उमेर समूहका ब्यक्तिहरु जो काठमाण्डौका सडकपेटी मठ मन्दिरहरुमा जीवनयापन गर्न बाध्य छन्, त्यस्ता ब्यक्तिहरुका निम्ति सहयोग गर्ने हेतुले स्थापित संस्था हो सम्मान । यसरी सडकमा आउन बाध्य व्यक्तिहरुलाई मनाेपरामर्श दिने, विभिन्न तालीम दिइ सिप सिकाउने, आय आर्जन गर्न प्रेरित गर्ने र फेरी सडकमा फर्किन नपर्ने वातावरण सृजना गराउने लक्ष्यका साथ अगाडि बढेको संस्थाका विभिन्न गतिविधिमा सहभागि भएर काम गर्न पाउँदा खुशी छु र यस कार्यमा सबैको सहयोग आवश्यक छ ।

करुणा अधिकारी

विद्यार्थी
पोखरा

सम्मानले घरबार नभै वा भएर पनि सडकमा आश्रय लिन पुगेका सडक व्यक्तिहरुलाई खाना खुवाउने, कपडाहरू वितरण गर्ने, मनाेपरामर्श दिइरहेकाे छ भने त्यस्ता नागरिकहरुलाई पुनर्वास समेत गराई उचित व्यवस्थापन गर्ने कुरामा अग्रसर रहेकाे छ । सम्मानले गरेका पूण्य कर्महरुमा म समेत प्रत्यक्ष संलग्न भई सहभागी हुने मौका समेत पाएको थिएँ । घरवारविहीन व्यक्तिहरु जो सडकमा आश्रय लिन बाध्य छन् त्यस्ता व्यक्तिहरुका शारीरिक तथा मानसिक समस्याहरुको समाधान गराई उचित पुनर्वास गर्ने कार्यमा समेत अग्रसर रहेकोले साँच्चिकै 'सम्मान' नामक संस्थf सम्मान गर्न लायक छ । संस्थाले हमेशा आफ्नो उद्देश्य बमोजिमका कार्यहरू गरी सडक आश्रित व्यक्तिहरू देख्न नपराेस् संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

जीवन न्याैपाने

अधिवक्ता
काठमाण्डाै

एक पटक ‘सम्मान’ले गरेको कामको साक्षी हुने अवसर मिलेको थियो । सडक आश्रित र मजदुर वर्गको भोको पेट भर्नका लागि ‘Curry Without Worry’ नामको अभियान सञ्चालन हुँदै आएको वर्षाैँ भइसकेको रहेछ । अभियान अन्तर्गत हरेक मंगलबार ३०० देखि ४०० जनासम्मलाई साँझको खाना खुवाउने रहेछ । सडक आश्रित र असहाय मानिसका सेवा गर्ने उद्देश्यले सञ्चालित अभियान भएका कारणले आफ्नो स्थापना कालबाटै ‘सम्मान’ सो अभियानमा जोडिन पुगेको रहेछ । २०७६ सालको अन्त्यतिरको एक मंगलबार मलाई पनि सो अभियानको सामेल हुने अवसर मिल्यो । हामीले बिहानैबाट तरकारी काट्नेदेखि खाना पकाउने, खाना ओसार्ने र बाँड्नेसम्मका काम गर्याैँ।

यसो हेर्दा यो एउटा सामान्य अभियान जस्तो देखिन्छ । तर त्यहाँ खाना आउनेको भीड र एकछाक खानाका लागि मानिसले गरेका परिश्रम र तँछाडमछाड नियालेर हेर्दा यो अभियान सामान्य हैन भन्ने लाग्यो । देशभर हरेक दिन कति मान्छे भोकै सुत्दा हुन् त्यो मलाई थाहा छैन तर जीवनमा अनेक पटक ठूला ठूला पार्टी खाँदा ‘म’ कहिलै त्यति रमाउन सकेको थिइँन जति त्यो भीडमा आएकाहरू सामान्य दालभात तरकारीले पेट भरेपछि रमाएका थिए । दिनभरीको कामले हामी निक्कै थाकेका थियाँैं । खानाखाई सकेपछि हरेकका आँखामा खुुशीको चमक देख्दा शरीर र मन हलुङ्गो भयो । साँच्चै ‘सम्मान’का अनेक योजनाहरू कार्यान्वयन गर्ने क्रममा त्यसका सदस्यहरू निक्कै थाक्नेछन् । अपेक्षा गर्छु, रोइरहेकाहरूको मुहारमा आउने खुशीले सधैँ ‘सम्मान’का साथीहरूलाई उर्जा दिइरहोस् ।

महेश श्रेष्ठ

लेखक
काठमाण्डाै